पिप्रहर सामुदायिक होमस्टे

‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

4
Share
Featured

नवलपरासी । २६ जेठ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । 

केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र सांस्कृतिक कार्यक्रम सञ्चालन सम्ममा अग्रसर देखिन्छन् । नयाँ मानिससँग बोल्न हिच्किचाउने महिला अहिले निर्धक्कसँग आफ्नो गाउँ, संस्कृति र जीवनशैलीबारे जानकारी गराउन सक्ने भएका छन् । 

पिप्रहर सामुदायिक होमस्टेमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।  स्थानीय थारू संस्कृति, परम्परागत खानपान, प्राकृतिक वातावरण र ग्रामीण जीवन नजिकबाट अनुभव गर्न चाहने पर्यटक यहाँ पुग्ने गरेका छन् ।

होमस्टे सञ्चालनको अधिकांश जिम्मेवारी महिलाकै काँधमा छ । पाहुनालाई स्वागत गर्ने, परिकार तयार गर्ने, सांस्कृतिक नृत्य प्रस्तुत गर्ने र सरसफाइ व्यवस्थापनजस्ता काम महिलाले नै सम्हालिरहेका छन् । त्यस्ता कार्यमा पुरुषले सहयोग भए पनि नेतृत्व तहमा भने महिलाकै सक्रियता पाइन्छ ।

स्थानीय चन्द्रामाया महतो होमस्टे सुरु भएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । “पहिले खेतीपातीको आम्दानीमै भर पर्नुपथ्र्यो । खर्च धान्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले होमस्टेमा पाहुना आउँछन्, सेवा गरेबापत आम्दानी हुन्छ । घरखर्च चलाउन सहज भएको छ ।” 

होमस्टेले महिलालाई आर्थिक रूपमा मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनाएको स्थानीयको भनाइ छ । परिवार र समाजबाट प्रोत्साहन पाएपछि महिला नेतृत्व तहमा पुग्न सक्षम भएको अनुभव उनीहरूले सुनाउँछन् ।

पिप्रहरमा आउने पर्यटकका लागि स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य मुख्य आकर्षण बनेको पिप्रहर सामुदायिक होस्टेका अध्यक्ष सोमनाथ महतोले बताउनुभयो । “यहाँ आउने पाहुनाले गाउँको मौलिक संस्कृति र घरमै बसेजस्तो अनुभव पाउँछन्”, उहाँले भन्नुभयो, “नारायणी नदी आसपासको मध्यवर्ती क्षेत्रमा जिप सफारीमार्फत गैँडा, हरिण, मृग, बँदेल, गोही र विभिन्न चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।”

उहाँका अनुसार जङ्गली जनावरका कारण स्थानीयले भोग्ने समस्या पनि अहिले पर्यटकीय आकर्षणमा बदलिन थालेको छ । गाउँबस्ती नजिक आउने वन्यजन्तु अवलोकन गर्न पर्यटक उत्साहित हुने गरेका छन् । होमस्टेले महिलाको आत्मनिर्भरता र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

“पहिले महिला बाहिर बोल्नै डराउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पाहुनासँग खुलेर संवाद गर्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ । गाउँकै विकासमा महिलाको भूमिका बढेको छ ।” 

विसं २०७२ मा पाँच घरबाट सुरु गरिएको पिप्रहर सामुदायिक होमस्टे अहिले विस्तार भएर २२ घरमा पुगेको छ । होमस्टेसँगै स्थानीय उत्पादन, थारू परिकार र सांस्कृतिक कार्यक्रमले बजार पाउन थालेको छ ।

ग्रामीण पर्यटनसँगै महिलाको नेतृत्व र आर्थिक सशक्तीकरणको उदाहरण बनेको पिप्रहर सामुदायिक होमस्टे अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहिचान बन्दै गएको छ । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...