काठमाडौँ
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अव्यवस्थित बनेको शैक्षिक पात्रो सुधार गर्ने लक्ष्यसहित रोकिएका तथा अनियमित भएका परीक्षा तीव्र रूपमा सञ्चालन गरिरहेको जनाएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।
शैक्षिक पात्रो मिलाउन महिनामा तीनदेखि चार प्रकारका परीक्षा सञ्चालन भइरहेको र २०५३ सालदेखि रोकिएका मौका परीक्षासमेत असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल वैशाख महिनामा मात्रै बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्।
त्रिविले असारसम्म सबै बाँकी परीक्षा सकाएर साउनदेखि २०८३ सालको शैक्षिक पात्रोअनुसार नियमित परीक्षा सञ्चालन गर्ने जनाएको छ। जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तह पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष तथा बीटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ भने असारमा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको परीक्षा सञ्चालन गर्ने तयारी छ।
कोरोना महामारी र विभिन्न आन्दोलनका कारण प्रभावित परीक्षा प्रणालीलाई पुनः नियमित बनाउने लक्ष्यसहित काम भइरहेको त्रिविले जनाएको छ। हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी छन्।
यसैबीच, परीक्षा प्रणालीमा सुधार गर्दै त्रिविले परीक्षा सम्पन्न भएको १०० दिनभित्रै नतिजा प्रकाशित गर्ने व्यवस्था लागू गर्न थालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।