काठमाडौँ
नेपाली काँग्रेसले पार्टी अनुशासन कडाइ गर्दै असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले सात जना नेतालाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिने निर्णय गरेको हो।
ललितपुरस्थित बी.पी. स्मृति भवनमा बुधबार बसेको समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा सम्बन्धित नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ। बैठक समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
समितिको निर्णयअनुसार महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु), पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मन्त्री प्रदिप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने तथा लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेश सभा सदस्य राजु खनाललाई स्पष्टीकरण सोधिने भएको छ।
यसैगरी मधेस प्रदेशका प्रदेश सभा सदस्यहरू जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण पेस गर्न पत्राचार गरिने समितिले जनाएको छ।
पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको विषयलाई गम्भीर रूपमा लिँदै अनुशासन कायम राख्न आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।