काठमाडौँ
कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले भारतसँग रासायनिक मल आपूर्ति सहजीकरणका लागि आग्रह गरेकी छन्। मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको शिष्टाचार भेटवार्तामा उनले मल आपूर्तिसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाएकी हुन्।
भेटका क्रममा मन्त्री चौधरीले नेपालमा रासायनिक मल आपूर्तिमा भारत सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै पुरानो ‘जी–टु–जी’ (सरकार–सरकार) सम्झौताको म्याद सकिएकाले नयाँ सम्झौता छिटो अघि बढाउन अनुरोध गरिन्। उनले आगामी वर्खे धान सिजनलाई लक्षित गर्दै भारतबाट १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी मल जी–टु–जी प्रणालीमार्फत खरिद प्रक्रिया सहज बनाउन आग्रह गरेकी छन्।
भेटमा पश्चिम एसियामा देखिएको वर्तमान परिस्थितिका कारण मल आपूर्तिमा चुनौती देखिएको विषयमा पनि छलफल भएको बताइएको छ। साथै कृषि क्षेत्रको दीर्घकालीन सहकार्य विस्तारबारे पनि विचारविमर्श गरिएको छ।
यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले कृषि तथा सम्बन्धित पूर्वाधार परियोजनाबारे जानकारी गराएकी थिइन्। उनले अरुण जलविद्युत आयोजना र भारतको सिलगुढीदेखि नेपालको झापासम्म निर्माणाधीन दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) कार्यमा सहजीकरण आवश्यक रहेको उल्लेख गरिन्।
भेटवार्तामा कृषि क्षेत्रमा स्टार्टअप, आधुनिक प्रविधि, ज्ञान आदान–प्रदान तथा क्षमता विकासका लागि भारत भ्रमण कार्यक्रम पुनः सञ्चालन गर्ने प्रस्ताव पनि उठाइएको थियो। यस्तै, उखुको उन्नत बीउ अनुदानमा उपलब्ध गराउने विषयमा समेत छलफल भएको जनाइएको छ।
त्यसैगरी नेपाल–भारत सीमाक्षेत्रमा देखिने पशुजन्य रोग नियन्त्रणका लागि दुवै देशबीच संस्थागत समन्वय र सहकार्यलाई सुदृढ बनाउने सहमति भएको छ। मन्त्री चौधरीले नेपाल–भारत सम्बन्धलाई कृषि क्षेत्रमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।