काठमाडौँ
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत बाघ गणनाको फिल्ड काम सम्पन्न भएको छ ।
निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्स क्षेत्रमा ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट गरिएको बाघ गणनाको काम सकिएपछि क्यामेराहरू संकलन गर्ने काम भइरहेको छ ।
गत फागुन अन्तिम सातादेखि सुरु गरिएको सर्वेक्षणका क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रमा ५२० वटा स्वचालित क्यामेरा जडान गरिएको थियो ।
वाग्लेले भने, “शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरू संकलन भइसकेका छन्, अब ती क्यामेरामा कैद भएका तस्बिरहरूको विश्लेषणपछि बाघको वास्तविक संख्या पत्ता लाग्नेछ ।”
शुक्लाफाँटामा प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना हुँदै आएको छ । सन् २०२२ को गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ रहेका थिए ।
निकुञ्जले हरेक वर्ष आन्तरिक सर्वेक्षण पनि गर्ने गरेको छ, जसअनुसार हाल यहाँ ४३ वटा बाघ रहेको अनुमान गरिएको छ ।
संरक्षण अधिकृत वाग्लेका अनुसार यसपटकको राष्ट्रिय गणनामा पनि करिब सोही संख्यामा बाघ भेटिन सक्ने अनुमान गरिएको छ । उनले भने, “आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ देखिएका छन्, त्यसैले ठूलो उतारचढाव नहुने अपेक्षा गरिएको छ ।”