काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै समूहमा भेट गरी क्षेत्रीय समस्या र विकासका योजनाबारे छलफल गरेका छन्। प्रधानमन्त्रीले सांसदहरूसँग तत्काल समाधान गर्नुपर्ने समस्या र त्यसको उपायबारे जिज्ञासा राखेका थिए।
छलफलपछि रास्वपा सांसद यज्ञमणि न्यौपानेले कोशी प्रदेशका सामूहिक र निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए। प्रधानमन्त्रीले समस्याको समाधानका लागि ठोस बाटो पहिल्याउन सांसदहरूसँग सहकार्यको प्रस्ताव गरेका थिए। यस्तै, कैलाली–४ का सांसद खेमराज कोइरालाले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा विशेष ध्यान दिन आग्रह गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र मुगुको रारासम्म सडक कालोपत्रे गर्न माग गरे। उनले समयमै काम नसक्ने ठेकेदारहरूको लाइसेन्स खारेज गर्न र उनीहरूलाई कालोसूचीमा राख्न प्रधानमन्त्रीलाई अपिल गरे। शाहीले अघिल्लो सरकारले बिना अध्ययन रोकेका विकास आयोजनाका बजेटहरू तत्काल फुकुवा गर्नुपर्नेमा समेत जोड दिए।
प्रधानमन्त्री बालेनले सांसदहरूका सुझावलाई सम्बोधन गर्दै विकास निर्माणमा देखिएका अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले आगामी दिनमा अन्य प्रदेशका सांसदहरूसँग पनि यसैगरी छलफल जारी राख्ने सचिवालयले जनाएको छ।