काठमाडौँ।
नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी नहुने परम्परा रहेको छ। दलीय राजनीतिभन्दा माथि रहने र पदको गरिमा एवं निष्पक्षता कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहँदै आएका हुन्।
यसअघिका राष्ट्रपतिहरू डॉ. राम वरण यादव र विद्या देवी भण्डारीले पनि आफ्नो कार्यकालमा कुनै पनि निर्वाचनमा मतदान गरेका थिएनन्। सोही परम्परालाई पछ्याउँदै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि यस पटकको निर्वाचनमा सहभागी नहुने शीतल निवास स्रोतले जनाएको छ।
यद्यपि, कुनै पनि कानुनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्न रोक लगाएको छैन। तर, सबैको साझा पदमा रहेको व्यक्तिले कुनै दल वा व्यक्ति विशेषलाई मत दिँदा निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकाले उनीहरू मतदानबाट अलग रहने गरेका हुन्। राष्ट्रप्रमुख र उप-राष्ट्रप्रमुखको चयन भने प्रत्यक्ष जनमतबाट नभई संघीय संसद र प्रदेश सभा सदस्यहरू सम्मिलित निर्वाचक मण्डलमार्फत हुने संवैधानिक व्यवस्था छ।