काठमाडौँ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन तोकिएकै मिति र समयमा हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले केही व्यक्तिहरूले निर्वाचन हुँदैन भनी फैलाएको गलत सूचना र भ्रमको पछि नलाग्न आह्वान गरे।
भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ लागू भइरहेको र यसको उल्लङ्घनबारे आएका उजुरीहरूमा छानबिन भइरहेको जानकारी दिए। उनले निर्वाचनअघि 'मत सर्वेक्षण' (Exit Polls) गर्न नपाइने स्पष्ट पार्दै यस्ता कार्यले मतदाताको निर्णयलाई प्रभावित पार्ने बताए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसपटक २०७९ को निर्वाचनमा भन्दा बढी मतदान हुने गरी मतदाता शिक्षालाई तीव्र बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा गोरखापत्र संस्थानका पदाधिकारीहरूले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर ४६ भाषामा सामग्री प्रकाशन गरिरहेको जानकारी दिएका थिए। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बदर मत न्यूनीकरणका लागि साक्षरता र मतदाता शिक्षाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।