दुर्गमका महिला पत्रकार : क्षमता विकासमा सरोकारवाला र राज्यको दायित्व

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

15
Share
Featured
  • दुर्गम क्षेत्रमा महिला भएर पत्रकारिता गर्नु सामाजिक विभेद, दबाब र असुरक्षाका कारण अत्यन्त चुनौतीपूर्ण छ।
  • पत्रकारिता शिक्षा, पेशागत संरक्षण, समान तलब र फेलोसिपमा पहुँच नहुँदा महिला पत्रकारहरू वञ्चित भइरहेका छन्।
  • राज्यले अवसर र सुरक्षित वातावरण सुनिश्चित गरे दुर्गमका महिला पत्रकार समाज परिवर्तनका सशक्त आवाज बन्न सक्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दुर्गम गाउँमा बसेर पत्रकारिता गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । त्यसमा पनि महिला भएर पत्रकारिताको धर्म निभाउनु झन् कठिन छ । हामी गाउँका महिला पत्रकार हौँ । हामीलाई हाम्रो गाउँ, समाज, संस्कृति, समस्या र सम्भावनाबारे सबैभन्दा नजिकबाट थाहा हुन्छ । तर काठमाडौं बाहिर, विशेषगरी सुदूरपूर्व र सुदूरपश्चिमका विकट जिल्लामा पत्रकारिता गर्नु सजिलो छैन । अझै पनि महिलालाई पुरुषभन्दा तल्लो दर्जामा राख्ने समाजमा खुलेर सत्य बोल्नु र लेख्नु सजिलो छैन ।

महिला पत्रकारले उठाएका विषयलाई गम्भीरतापूर्वक नलिने प्रवृत्ति आज पनि व्याप्त छ । हामीले बोलेका कुरा पत्याइँदैन, प्रश्न सोध्दा अपमान सहनुपर्छ । कसैको गलत काम वा बेथिति बाहिर ल्याउन खोज्दा ‘महिला भएर किन बोल्छ्यौ ?’ भन्ने प्रश्न सुन्नुपर्ने अवस्था, गाउँघरमा सवाल–जवाफ गर्न डर लाग्ने अवस्था छ । सत्यको पक्षमा उभिँदा सामाजिक दबाब, मानसिक हिंसा र तिरस्कार झेल्नुपर्छ ।

अझ दुःखद कुरा के छ भनेर्, हामीमध्ये धेरैले औपचारिक पत्रकारिता शिक्षा पाएका छैनौँ । रेडियो, अनलाइन र फिल्डमै सिकेर पत्रकारिता गरिरहेका छौँ । अनुभवकै आधारमा काम गर्दै आएका छौँ । तर दुर्गम जिल्लामा पत्रकारिता पढ्ने वातावरण नै छैन । पढ्नका लागि शहर जानुपर्छ, जसका लागि आर्थिक अवस्था, बसोबास र पारिवारिक जिम्मेवारी ठूलो बाधा बन्छ ।

राज्यले दुर्गम जिल्लामा पत्रकारिता शिक्षाको पहुँच पु-याउन सकिरहेको छैन । आफ्नै घरको खाना खाएर, बाबुआमाको हेरचाह गर्दै पढ्न पाउने वातावरण बनाइएमा धेरै महिला पत्रकार सक्षम बन्न सक्छन् । शिक्षा मात्र होइन, स्वास्थ्य सुविधा, सुरक्षित कार्य वातावरण र पेशागत संरक्षण पनि राज्यको दायित्व हो ।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने मान्यता व्यवहारमा देखिनुपर्छ । विश्वविद्यालयहरुले आमसंचार तथा पत्रकारिता पढ्न चाहने महिलाहरुलाई प्रोत्साहित गर्ने, छुट प्याकेज बनाउने र अवसर सिर्जना गरिदिने काममा भूमिका खेल्नुपर्छ । मिडिया हाउसहरुमा महिला पत्रकारहरुको संख्या बढेको छ, गुणस्तरीय समाचार उत्पादनमा महिला पत्रकारहरुले उल्लेख्य भूमिका निर्वाह गरिरहेपनि पुरुषको तुलनामा कम तलब वा सेवासुविधान दिने परिपाटीको अन्त्य भएको छैन् । यसमा पनि सम्बन्धित निकायहरुले ध्यान दिन जरुरी छ ।

आज गाउँ रित्तिँदै गएको छ । युवाहरू शहर पसिरहेका छन्, शहरले विकल्प नदिँदा विदेशिन बाध्य छन् । गाउँका समस्या, पीडा र आवाज उठाउने कोही नहुँदा समाज झन कमजोर बन्दै गएको छ । सरकार काठमाडौं केन्द्रित सोचबाट बाहिर ननिस्किएसम्म दुर्गम जिल्लाको यथार्थ बदलिँदैन । ७७ वटै जिल्ला छन भन्ने कुरा सरकारलाई सधैँ सम्झाइरहनुपर्ने अवस्था लाजमर्दो हो कि ? भन्ने मेरो व्यक्तिगत धारणा हो ।

बाजुरा जस्ता दुर्गम जिल्लामा रेडियोमा काम गर्दै, पत्रकारिता गर्दै स्नातक तहसम्मको पढाइ पूरा गर्नु आफैँमा संघर्षको कथा हो । दुर्गम जिल्लामा महिला भएर पत्रकारिता गर्नु सजिलो छैन । समाजमा भइरहेका विकृति, विसंगति र अन्याय बाहिर ल्याउन ठूलो साहस चाहिन्छ । पढाइको अवसर नहुँदा ‘हामी साँच्चिकै पत्रकार हौँ कि होइनौँ ?’ भन्ने प्रश्न पनि हामीमाथि तेर्साइन्छ । फेलोसिप र बृत्तिविकासका कार्यक्रमहरु आफू निकट, आफ्नै संस्थाका सदस्य साथै राजनीतिक दल निकटताका आधारमा विभेद गरिन्छ । हाल महिला पत्रकारहरुका लागि भनेर खुलेका संस्थाहरुको अवस्था झनै गैरजिम्मेवार देखिन्छन् । फेलोसिप र बृत्तिविकासका कार्यक्रमहरु आफ्नै व्यक्तिहरुलाई प्रदान गर्ने परिपाटीको विकास भएको छ । लेख्न सक्ने, नयाँ खोज अनुसन्धान गर्न सक्ने र सिर्जनात्मक क्षमता भएकाहरु सँधै पछाडि पारिने गरेको छ । दुर्गममा बसेर काम गर्नेहरु झन प्रताडित र वन्चित छन् ।

तर यी सबै कठिनाइका बाबजुद पनि हामी महिला पत्रकारसँग पुरुष सरह नै काम गर्न सक्ने आँट, क्षमता र प्रतिबद्धता छ । दुर्गम हुनु कमजोरी होइन, महिला हुनु बाधा होइन । राज्यले अवसर र वातावरण मात्र सुनिश्चित गरिदिएमा हामी समाज परिवर्तनका बलिया आवाज बन्न सक्छौं । महिला पत्रकारलाई कमजोर होइन, परिवर्तनका साझेदारका रूपमा हेर्न अब ढिला गर्न मिल्दैन् । दुर्गमका महिला पत्रकारहरुलाई न्याय गरियोस सरकार !

यो समाचारमा

बाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

    Data is loading...

    Loading brands...

    Loading footer...