काठमाडौँ।
पछिल्लो २४ घण्टामा देशभर २० वटा विपद्का घटना भएका छन्, जसमध्ये १७ वटा आगलागीका घटना मात्रै रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी आगलागीका घटनाबाट रु. ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ।
प्राधिकरणले मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो। यस अवधिमा सिराहा, भोजपुर, पाँचथर, मोरङ, सप्तरी, बारा, ,ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेलगायतका जिल्लामा आगलागीका घटना भएका थिए।
प्राधिकरणको विश्लेषणअनुसार अधिकांश आगलागीका घटना मानवीय असावधानीका कारण भएका छन्। गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा र विद्युत् सर्ट हुँदा आगलागी भएको पाइएको छ। प्राधिकरणले सामान्य सावधानी अपनाएमा यस्ता घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताएको छ।
यसै अवधिमा आगलागीबाहेक मुस्ताङमा एक जनालाई लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा बाघको आक्रमणबाट एक महिला घाइते भएको घटना पनि दर्ता भएका छन्।