काठमाडौँ
दक्षिण एशियाका विभिन्न देशहरू—इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र श्रीलंकामा परेको मुसलधारे वर्षा र उष्णकटिबन्धीय तुफानका कारण भीषण बाढी र पहिरो आएका छन्। यस आपत्मा करीव ६०० जनाको मृत्यु भइसकेको छ भने अझै सयौँ हराइरहेका छन्। लाखौँ मानिस प्रभावित भएका छन् र धेरैजना घर छोडेर सुरक्षित स्थलतर्फ लाग्न बाध्य भएका छन्।
इन्डोनेशियाको सुमात्रा टापुमा वर्षा सुरु भएपछि बाढी तीव्र रूपमा फैलिएको थियो। सयौँ मानिस वेपत्ता छन् र हजारौँ भवन डुबानमा परेका छन्। स्थानीय बासिन्दाले क्षणभरमै पानी घरभित्र पसेर सबै सम्पत्ति बगाएको बताइरहेका छन्। तेज बहावका कारण उद्धार प्रयास कठिन बनेको छ, यद्यपि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
थाइल्याण्डमा पनि दशकौँयताकै ठूलो बाढी आएको छ। पानी ३ मिटरसम्म बढेपछि १६० भन्दा बढी मानिसको मृत्यु भएको छ र ३.८ मिलियनभन्दा धेरै प्रभावित भएका छन्। हाट याइ सहरमा ३०० वर्षयताकै भारी वर्षा भएको थियो। अस्पतालका शवगृह भरिएपछि शवहरू रेफ्रिजेरेटेड ट्रकमा राख्नुपरेको थियो। सरकारकाे तर्फबाट राहत र क्षतिपूर्ति दिने घोषणा गरिएको छ।
श्रीलङ्कामा चक्रवात ‘डिट्वाह’ र निरन्तर वर्षाका कारण १३० भन्दा बढीको मृत्यु र हजारौँ विस्थापित भएका छन्। लाखौँले घर–परिवार गुमाएका छन् र देशको एक–तिहाइ क्षेत्रमा बिजुली तथा पानी आपूर्ति ठप्प छ। मौसमविद्हरूका अनुसार टाइफुन ‘कोटो’ र दुर्लभ चक्रवात ‘सेन्यार’ को अन्तरक्रियाले अत्यधिक वर्षा र बाढी निम्त्याएको हो। मौसम परिवर्तनले यस्ता झन् शक्तिशाली र दीर्घकालीन वर्षाका घटनाहरू बढाइरहेको बताइन्छ।