काठमाडौँ।
पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का घटनाहरूमा वृद्धि भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर १८ वटा विपद्का घटना भएका छन्, जसमा तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। यी घटनाबाट करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
विशेषगरी, सावधानी र जनचेतनाको अभावमा आगलागीका घटना बढेका छन्। झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा गरी नौ वटा आगलागीका घटना रेकर्ड भएका छन्।
यसैगरी, रसुवाको लाङटाङमा हावाहुरी र हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ। भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित येलुङ रि हिमाल आरोहणमा गएका १२ जनामध्ये हिउँ पहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन्। यस घटनामा दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु भएको छ भने पाँच नेपाली घाइते भएका छन्। गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ।