काठमाडौँ
इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले आफूलाई चकलेट र जाममार्फत विष हालेर मार्ने प्रयास गरिएको दाबी गरेका छन्। उनले ती उपहारमा अत्यधिक सघन विषालु पदार्थहरू मिसाइएको प्रमाण आफ्ना टोलीसँग रहेको बताएका छन्। नोबोआका अनुसार यस्ता रासायनिक पदार्थहरू आकस्मिक रूपमा त्यस्तो मात्रामा पाइनु “लगभग असम्भव” छ। तर उनले हालसम्म सार्वजनिक रूपमा कुनै ठोस प्रमाण प्रस्तुत गरेका छैनन्।
उनका यी टिप्पणीहरू इन्धन मूल्यवृद्धिका कारण देशभर फैलिएका हिंसात्मक प्रदर्शनहरूका बीच आएका हुन्। नोबोआले मादक पदार्थ गिरोहहरूविरुद्ध सेना परिचालन गरेका छन्, तर प्रदर्शनकारीमाथि कठोर व्यवहार गरेको आरोप पनि खेपिरहेका छन्। उनले आफूविरुद्ध भएका तीनवटा जीवनमाथिका प्रयासहरूलाई विरोधीहरूलाई हिंस्रक देखाउनका लागि गरिएको नाटक नभएको स्पष्ट पारेका छन्।
गत अक्टोबरमा सरकारका अनुसार पाँच जना व्यक्तिलाई नोबोआमाथि गरिएको आक्रमण प्रयासमा पक्राउ गरिएको थियो। करीब ५०० जनाले उनको गाडीमा ढुंगा प्रहार गरेका थिए र गाडीमा गोलीको क्षति देखिएको बताइएको थियो। तर बीबीसीले गोली चलाइएको पुष्टि गर्न सकेको छैन। नोबोआ भने ती घटनामा सुरक्षित रहेका थिए।
सेप्टेम्बरमा पनि नोबोआ सवार एक मानवीय सहायता काफलामाथि आक्रमण भएको थियो, जसमा १७ सैनिकलाई बन्धक बनाइएको थियो। संयुक्त राष्ट्रसंघ र युरोपेली संघका अधिकारीहरू पनि सो काफलामा रहेका थिए। उक्त काफलामाथि करिब ३५० जनाले मोलोटभ ककटेल र ढुंगामुढा गरेर आक्रमण गरेका थिए। यसबीच, डिजेल सब्सिडी अन्त्यको विरोधमा आदिवासी समूह कोनाइले नेतृत्व गरेको राष्ट्रिय आन्दोलन बिहीबार सम्झौता भएपछि समाप्त भएको छ।