चितवन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण रहेको बताएका छन् ।
तर उक्त आन्दोलनलाई लिएर तत्कालीन सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नअपनाउँदा हिंसात्मक बनेको उनले बताएका छन् ।
बिहीबार चितवनमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो’, उनले भने, ‘गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमीक्षा नभएको उल्लेख गरे । ‘उनकै कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर, आज पनि कुनै पश्चाताप छैन’, उनले भने ।
‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्,’ उनले भने ।
संसद् पुनःस्थापना हुनसक्ने भए पनि उक्त एजेन्डा अब गौण बनिसकेको उनले बताए । ‘एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेका छन्’, उनले भने, ‘एमालेभित्र पनि बहुमत चुनावका पक्षमा छन् । ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’
तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन भइरहेका छन्,’ उनले अगाडि भनेका छन् ।