काठमाडौँ।
निजामती विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै युवराज सफलले प्रतिनिधि सभाका सभामुखसमक्ष निवेदन दिएका छन्।
बुधबार सभामुखको सचिवालयमा निवेदन दर्ता गर्दै उनले यो प्रकरण नटुंगिदासम्म राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट निलम्बन गर्न पनि माग गरेका छन्।
सफलले आफ्नो निवेदनमा ‘कुलिङ पिरियड’ हेरफेर गर्ने कार्यमा सभापति खतिवडा, समितिका अन्य सदस्य, सचिव, कानुन मन्त्री, कानुन सचिव र सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरूको समेत भूमिका हुन सक्ने आशंका व्यक्त गरेका छन्।
उनले सांसदले बनाएको कानुनी दस्ताबेजमा अनधिकृत रूपमा संशोधन गर्नुलाई 'राज्यविरुद्धको कसुर, सरकारी किर्ते र न्यायिक एवं संवैधानिक जालसाजी' भएको जिकिर गरेका छन्।
निवेदनमा प्रकरणको सत्यतथ्य पत्ता लगाउन तत्काल संसदीय छानबिन समिति गठन गर्न र दोषीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ। साथै, प्रकरणको नैतिक जिम्मेवारी लिँदै सभापति खतिवडाले राजीनामा दिनुपर्ने र नदिएमा अनुसन्धान नसकिँदासम्मका लागि पदबाट निलम्बन गर्न सभामुखलाई आग्रह गरिएको छ।