काठमाडौँ, जेठ ३० ।
भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २९० पुगेको छ। अहमदावादबाट लन्डनका लागि उडेको विमान दुर्घटनाग्रस्त भई चिकित्सकहरूको एक होस्टेलमा ठोक्किँदा विमानका यात्रुसँगै होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको हो।
एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको थियो। दुर्घटनामा विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ। विमानबाट एकजना भारतीय मूलका ब्रिटिश नागरिकलाई मात्र जीवितै उद्धार गरिएको छ, जसको अस्पतालमा उपचार भइरहेको छ।
घटनामा विमान खसेको चिकित्सकहरूको होस्टेल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेहरूको कुल संख्या कम्तीमा २९० पुगेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।