काठमाडौँ, जेठ २७ ।
भिजिट भिसा प्रकरण लगायतका विषयमा संसदीय छानबिन समितिको माग गर्दै आएका विपक्षी दलहरू साझा रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन, नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हित राज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे लगायतका नेताहरू सहभागी छन्।
बैठकको मुख्य एजेन्डा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको पाँच बुँदे प्रस्तावमा केन्द्रित छ। गृहमन्त्रीको राजीनामाको मागबाट लचक बन्दै रास्वपाले छानबिन समितिको गठनलाई मुख्य सर्त बनाएपछि विपक्षी दलहरूबीच साझा धारणा बनाउन यो छलफल आयोजना गरिएको हो।
यसअघि नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा सत्तापक्षसँग पटक-पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन। सत्तापक्ष रास्वपाले प्रस्ताव गरेअनुसारको छानबिन समिति बनाउन तयार नहुँदा संसदीय गतिरोध लम्बिएको हो।
आजको बैठकले उक्त पाँच बुँदे प्रस्तावमाथि एकीकृत धारणा तय गरी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिने बताइएको छ।