धरहराको वास्तुकलामा मुगल तथा नवशास्त्रीय (Neo-Classical) शैलीको सुन्दर समिश्रण देखिन्छ, जुन नेपालमा विरलै पाइने अद्वितीय स्थापत्य दृष्टिकोण हो। प्रारम्भिक धरहराको रूपरेखा भारतको प्रसिद्ध ताजमहलमा रहेका चार मिनार (minaret) तथा दिल्लीको कुतुब मिनारजस्ता इस्लामिक–मुगल स्तम्भ संरचनाबाट प्रेरित थियो। विशेषतः यसको गोलाकार आकार, स्तरीकृत तल्लाहरू, र शिखरसम्म पुग्ने सर्पिल भर्याङ प्रणाली ती शैलीहरूको झल्को दिन्छ। भिमसेन थापाको दरबार, भद्रकाली क्षेत्रमा अवस्थित, स्वयं मुगल शैलीमा निर्माण गरिएको थियो, जसमा नेपाली ‘काठमाडौं गोथिक’ शैली मिसिएको देखिन्छ जसले धरहराको स्थापत्यलाई अझ मौलिक बनाएको हो।
धरहराको प्रारम्भिक निर्माणमा प्रयोग गरिएका सामग्रीहरू परम्परागत नेपाली संरचना निर्माणको उत्कृष्ट उदाहरण थिए। वज्र–सुर्की (ईँटा धुलो मिसिएको चून), मासको पिठो, गुड (चाकु) जस्ता जैविक पदार्थहरू मिलाएर तयार पारिएको मिश्रण अत्यन्त बलियो मानिन्थ्यो। यी सामग्रीहरू वातावरणमैत्री, टिकाउ र भूकम्प प्रतिरोधी थिए। लामो समयसम्म संरचनालाई क्षति नपु¥याउने यी तत्वहरूले आज पनि हराउँदै गएको पारम्परिक इन्जिनियरिङ विधिलाई पुनःचिनाउने प्रयास गरेका छन्। परम्परागत शैलीमा निर्माण भएको धरहरा त्यस युगका इञ्जिनियरहरू कति सशक्त र दुरदर्शी थिए भन्ने कुराको प्रमाण पनि हो।
पुनर्निर्मित धरहरा अत्याधुनिक प्रविधिसहित बनाइएको भए पनि यसको बाह्य स्वरूप पुरानै शैलीको निरन्तरताको उदाहरण हो। २२ तल्ला रहेको नयाँ धरहरामा दुईवटा अत्याधुनिक लिफ्ट जडान गरिएको छ, जसले अपांगमैत्री पहुँच सुनिश्चित गर्छ। टावरको आन्तरिक भागमा संग्रहालय राखिएको छ, जसमा धरहराको इतिहास, भिमसेन थापाको योगदान र गोरखा भूकम्प सम्बन्धी दृश्य–सामग्रीहरू समावेश गरिएका छन्। टावर छेउमा झरना, हरियाली बगैँचा, विश्रामस्थल, र सामाजिक जमघटका लागि खुला स्थान पनि बनाइएको छ जसले यसलाई एक ऐतिहासिक स्मारक मात्र होइन, जीवन्त सार्वजनिक स्थल बनाएको छ।
यस धरहराको एक विशेष पक्ष भनेको यसको विशाल भूमिगत पार्किङ सुविधा हो, जसमा ३५० वटा चारपाङ्ग्रे र ६,००० दुईपाङ्ग्रे सवारी साधन अटाउने क्षमता छ। यस्तो संरचनाले काठमाडौंजस्तो घना क्षेत्रभित्र शहरी व्यवस्थापनमा उल्लेखनीय सहजता ल्याएको छ। साथै, पर्यटकहरूको आगमन व्यवस्थापन, स्थानीय यातायातको सहजता, र क्षेत्रीय सौन्दर्यमा यसको प्रत्यक्ष प्रभाव परेको छ। यस्तो प्रविधियुक्त व्यवस्थापनले धरहराको सांस्कृतिक मूल्यलाई समकालीन सहरी जीवनसँग जोड्ने काम गरेको छ।
पुनर्निर्मित धरहराको शिखरमा राखिएको काँसको मस्तक (top finial) पुरानै शैलीमा ढालिएको छ, जसले पुरानो धरहराको आत्मालाई नयाँ संरचनाभित्र जीवित राखेको अनुभूति दिन्छ। यसले स्पष्ट पार्छ कि नयाँ धरहरा केवल नयाँ निर्माण होइन, एक ऐतिहासिक पुनर्जागरण पनि हो। पुरातन वास्तुकलालाई आधुनिक प्रविधिको स्पर्श दिएर संरचना निर्माण गर्नु नेपाली पहिचान र समर्पणको प्रतीक हो। यसरी, धरहरा अहिले भौतिक पूर्वाधारभन्दा पनि एउटा सांस्कृतिक संवेदनशीलताको स्तम्भ बनेर उभिएको छ।
