काठमाडौँ
ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथ रथयात्रा उत्साहका साथ अघि बढिरहेको छ। शनिवार सुनधाराबाट तानेर चक्रबहिल पुर्याइएको रथ आइतबार लगनखेलतर्फ लैजाने तयारी गरिएको छ।
वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको यो जात्रामा ललितपुर तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन सहभागी हुने गरेका छन्। यो जात्रा नेपालकै सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ।
ऐतिहासिक मान्यताअनुसार यो जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको हो। त्यस समयमा उपत्यकामा १२ वर्षसम्म परेको भीषण खडेरी हटाउन मत्स्येन्द्रनाथलाई भारतको कामरूप कामाख्याबाट नेपाल ल्याइएको कथन छ।
गुरु गोरखनाथले नवनागहरूलाई ध्यानका क्रममा थुनेका कारण वर्षा रोकिएको विश्वास गरिन्छ। मत्स्येन्द्रनाथलाई नेपाल ल्याएपछि गोरखनाथ उठेर गुरुको दर्शन गर्न गएपछि नागहरू मुक्त भई उपत्यकामा वर्षा भएको धार्मिक विश्वास छ।
त्यसै घटनापछि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुज्दै भव्य रथयात्रा गर्ने परम्परा सुरु भएको मानिन्छ।