काठमाडौँ
तमिलनाडुको शिवगंगा जिल्लामा दुई सरकारी बसहरू आमने-सामने ठोकिँदा भयानक दुर्घटना भएको छ, जसमा ११ जनाको मृत्यु भएको छ। मृतकहरूमा आठ महिला, दुई पुरुष र एक बच्चा छन् भने ४० भन्दा बढी मानिस घाइते भएका छन्।
दुर्घटना कुम्मनगुडी नजिकै तिरुप्पुरमा घटेको हो। एक बस तिरुप्पुरबाट कराईकुडी जाँदै थिई भने अर्को बस कराईकुडीबाट डिंडीगुलतर्फ जाँदै थियो। आम मानिसहरूको सहयोगमा घाइतेहरूलाई बसबाट निकालेर नजिकका अस्पतालमा पुर्याइएको छ।
दुर्घटनामा ड्राइभरसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप तीन घाइतेको तिरुप्पुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। घाइतेहरूलाई तिरुप्पुर, मदुरै र कराईकुडीका सरकारी अस्पतालहरूमा उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनाका कारण ट्राफिकमा ठूलो अवरोध सिर्जना भयो र प्रहरीले ट्राफिकलाई डायवर्ट गर्यो। तिरुप्पुर प्रहरी स्टेशनले दुर्घटनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। यसअघि पनि २४ नोभेम्बरमा तेनकासी जिल्लामा दुई बसहरूको आमने-सामने ठोक्काबाट सात जनाको मृत्यु भएको घटना भएको थियो।