काठमाडौँ।
आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ उपत्यकासहित ललितपुर,भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा विशेष धूमधामका साथ मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा प्रारम्भ हुन्छ। यस अवधिलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ, जहाँ लिङ्गोको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्वलाई शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा पनि लिइन्छ।
जात्राका लागि भक्तपुरको चितपोल जङ्गलबाट भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ। आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ। विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन रहेकोमा, अहिले राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ। जात्राभरि विभिन्न परम्परागत नाचहरू प्रदर्शन गरिन्छ। यसमा भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाचका साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच प्रमुख छन्। जात्रा सुरु भएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन 'इन्द्रध्वज पातन' अर्थात् लिङ्गो लडाउन गर्ने धार्मिक विधान रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। यस अवसरमा उपत्यकाको पश्चिमस्थित दहचोकको इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ। यहाँ जाग्राम बसेर स्नान गर्ने धार्मिक परम्परा रहेको छ।