काठमाडौँ ।
हरेक वर्ष तीजमा दर्शक-श्रोताले व्यग्र प्रतीक्षा गर्ने लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ। 'पुतलीको भट्टी' शृङ्खलाको २१ औं भागको रूपमा उनको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। यो गीतले तीजको मुखमा माझीका गीत कुरेर बस्ने लाखौं श्रोताको प्रतीक्षालाई अन्त्य गरेको छ।
गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ। विष्णु माझीको स्वर र सुन्दरमणिको सिर्जनाको यो जोडीले नेपाली लोकसंगीतमा निरन्तर सफल गीतहरू दिँदै आएको छ।
गीतले एक चेलीले आफ्नी आमालाई सम्झिँदै पोखेको वेदना र बिलौनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। माझीको स्वरले गीतको भावलाई अझै जीवन्त बनाएको छ।
गीतको आकर्षक भिडियोमा गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ बाटै चर्चामा आएकी मोडल ललिता पौडेलको अभिनय देख्न सकिन्छ। भिडियोलाई थप भव्य बनाउन ६० जना कोरस डान्सरहरूलाई पनि समावेश गरिएको छ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन्।