काठमाडौँ,जेठ २६।
भिजिट भिसा प्रकरणको अनुसन्धानको दायरा फराकिलो बन्दै गएको छ। अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएको आरोपमा गृह सचिव गोकर्णमणि दुवाडी पनि छानबिनमा तानिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई पठाएको पत्रमा दरबन्दीभन्दा बढी कर्मचारी किन र कुन आधारमा खटाइयो भन्दै त्यसको पूर्ण विवरण माग गरिएको छ। पत्रमा सात दिनभित्र दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेका निकाय र ती कर्मचारीको नामसहितको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।
भिजिट भिसा प्रकरणमा गृह सचिव दुवाडीका विश्वास पात्र मानिने सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी रहेको तथ्य बाहिर आएको थियो। अख्तियारले जेठ १३ गते नै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर यस विषयमा तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले गृह सचिवसँग स्पष्टीकरण सोधेको हो।
यो प्रकरण सार्वजनिक भएलगत्तै गृह मन्त्रालयले हतारमा एकै दिन दुई पटक गरेर ९ जना नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटरको सरुवा गरेको थियो।
स्पष्टीकरण सोधिएका गृह सचिव दुवाडी भने हाल विदेश भ्रमणमा रहेका छन्।