काठमाडौँ
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश सहरी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार तराईदेखि पहाडी तथा हिमाली भूभागसम्म मौसम बदली भई वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ। विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार दिनभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायत तराई क्षेत्रका सहरमा दिउँसोदेखि रातिसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। ती क्षेत्रमा अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपास रहने महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा पनि आज दिनभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने र रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।
पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिनेछ भने पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
पश्चिमी क्षेत्रका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा भने दिउँसो हल्का वर्षा र राति आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद् सरोज पुढासैनीका अनुसार स्थानीय वायु र पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको हो।
महाशाखाले मेघगर्जन र चट्याङको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।