काठमाडौँ
थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारीलाई लिएर राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बागमती किनारको बस्ती आउँदो शनिबार र आइतबारभित्र खाली गराउन निर्देशन दिएपछि यस विषयले थप बहस सिर्जना गरेको हो।
बुधबार प्रधानमन्त्रीले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितका अधिकारीहरूलाई बोलाएर बस्ती खाली गराउने विषयमा निर्देशन दिएका थिए। सुरक्षा निकायका अनुसार अब काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी योजना कार्यान्वयन गर्ने तयारी भइरहेको छ।
यसैबीच, जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै यसलाई जनताप्रतिको धोका र राजनीतिक बेइमानीको संज्ञा दिएकी छन्। बमले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि जनताको विश्वासमाथि चोट पुर्याएको आरोप लगाएकी छन्।
यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर रहँदा पनि थापाथलीको सुकुमबासी बस्ती हटाउने प्रयास गरिएको थियो। तर, स्थानीय बासिन्दाको विरोधका कारण उक्त प्रयास सफल हुन सकेको थिएन। अहिले पुनः राज्य संयन्त्र परिचालन गरेर सोही बस्ती हटाउने तयारी भएपछि नागरिक स्तरबाट विरोधका स्वर उठ्न थालेका छन्।