काठमाडौँ
वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु गैरकानुनी भएको बताएका छन्। सोमबार सर्वोच्च अदालतमा उनीहरूको तर्फबाट बहस गर्दै खरेलले यस्तो जिकिर गरेका हुन्।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका क्रममा खरेलले सरकारले चयनमुखी ढङ्गले दुई जनालाई मात्रै पक्राउ गरेको आरोप लगाए। उनले एउटै जाहेरीका आधारमा अन्य व्यक्तिहरूको नामसमेत रहे पनि उनीहरूलाई नपक्राउ गरी दुई जनालाई मात्रै कारबाही गर्नु उचित नभएको तर्क प्रस्तुत गरे।
खरेलका अनुसार जाहेरीमा नाम परेका सबै व्यक्तिमाथि समान रूपमा कारबाही हुनुपर्ने भए पनि त्यसो नगरी केही व्यक्तिलाई मात्रै लक्षित गरिएको छ। उनले अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीको नामसमेत सोही घटनासँग जोडिएको भए पनि उनीहरूलाई कारबाही नगरिएको भन्दै प्रश्न उठाए।
यस क्रममा संयुक्त इजलासका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले पनि बहसका क्रममा प्रतिप्रश्न गरेका थिए। न्यायाधीश शर्माले जाहेरीमा दुई जनालाई मात्रै कारबाहीको माग गरिएको सन्दर्भ उठाएपछि खरेलले त्यही नै चयनमुखी व्यवहार भएको तर्क गरेका थिए।
खरेलले जाहेरी दर्ता भइसकेपछि त्यसमा उल्लेखित सबै व्यक्तिमाथि समान रूपमा कानुनी प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिएका छन्।