काठमाडौँ
युक्रेनी अधिकारीहरूले कालो सागरमा रूसको “छायाँ फ्लीट” का दुई तेल ट्यांकरहरू — काइरोस र विराट — युक्रेनी नौसैनिक ड्रोनद्वारा आक्रमण गरिएको पुष्टि गरेका छन्। भिडियोमा पानीमा दौडिदैँ गएका ड्रोनहरू ट्यांकरमा ठोक्किएर ठूलो विस्फोट भएको देखिन्छ। दुवै ट्यांकर गाम्बिया झण्डा बोकेको र पश्चिमी प्रतिबन्ध छल्न प्रयोग हुने पुराना तथा अस्पष्ट स्वामित्व भएका जहाजहरूको सूचीमा परेका थिए। कुनै मानवीय क्षति नभएको बताइए पनि यो आक्रमण रुसको तेल राजस्व कमजोर पार्ने प्रयासका रूपमा हेरिएको छ।
काइरोस दक्षिण–पश्चिम कालो सागरमा र विराट अझ पूर्वतर्फ केन्द्रिय क्षेत्रमा प्रहार गरिएको थियो। स्रोतहरूका अनुसार ‘सी बेबी’ नामक नौसैनिक ड्रोन प्रयोग गरिएको थियो, जुन युक्रेनको सुरक्षा सेवाले विकास गरेको हो। टर्कीका अधिकारीहरूले दुवै ट्यांकरलाई सहायता गरेको र काइरोसमा लागेको आगो निभाउन प्रयास गरेको भिडियोसमेत सार्वजनिक गरेका छन्। युक्रेनले यो आक्रमणमार्फत कालो सागरमा रुसको जहाज लक्ष्य बन्न सक्ने कडा चेतावनी दिएको छ।
यसैबीच, क्यास्पियन क्षेत्रबाट तेल ढुवानी गर्ने प्रमुख कन्सोर्टियमले रुसी बन्दरगाह नोभोरोसिस्कमा ड्रोन आक्रमणपछि तेल लोडिङ रोकिएको जनाएको छ। कन्सोर्टियमका अनुसार डुङ्गा—आधारित आक्रमणले मुरिङ पोइन्टमा गम्भीर क्षति पु-याएको छ। यस कन्सोर्टियममा रुस र कजाखस्तानका साथै एक्सन मोबिल, शेवरन, सेलजस्ता पश्चिमी कम्पनीहरूको पनि हिस्सा छ।
यसबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा अधिकारी रुस्तेम उमेरोभको नेतृत्वमा युक्रेनी प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकासँग युद्ध अन्त्य गर्ने सम्झौता सम्बधी वार्ता जारी राख्न पठाइएको बताएका छन्। उमेरोभ नयाँ प्रमुख वार्ताकार बनेका छन्, किनकि पहिलाका प्रमुख एनद्री येर्माकको घरमा भ्रष्टाचारविरोधी निकायले छापा मारेपछि उनले राजीनामा दिएका थिए। प्रतिनिधिमण्डल आइतबार फ्लोरिडामा अमेरिकी अधिकारीहरूलाई भेट्नेछ भने डोनाल्ड जोन ट्रम्पका विदेश दूत स्टिभ विट्कफ अर्को हप्ता मस्कोमा वार्ताका लागि पुग्ने कार्यक्रम छ।