काठमाडौँ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं 'अलर्ट'बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ। साथै, लेक लागिहालेमा यात्रा रोकी तत्काल तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत विशेष आग्रह गरेको छ।
पछिल्ला दुई दिन अर्थात् कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको र एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको घटनापछि प्राधिकरणले यो सूचना जारी गरेको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले विज्ञप्ति जारी गर्दै मृतकहरूप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना र बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार, कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा विभागले सूक्ष्म विश्लेषण गरिरहेको र छिट्टै पूर्वानुमान जारी गर्ने जानकारीसमेत प्राधिकरणलाई प्राप्त भएको छ।