काठमाडौँ।
प्राचीनकालदेखि चल्दै आएको ऐतिहासिक इन्द्रजात्रा पर्व आज बिहीबार बिहान इन्द्रध्वज (लिङ्गो) ठड्याएर औपचारिक रुपमा सुरु भएको छ। हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुर डबलीमा शुभसाइतमा लिङ्गो ठड्याइएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन बिहान शुभसाइतमा इन्द्रध्वज ठड्याएपछि यो जात्रा सुरु हुने परम्परा रहेको छ। विधिपूर्वक पूजा गरी ठड्याइएको यो लिङ्गो आगामी आठ दिनसम्मका लागि रहनेछ। यो लिङ्गो भक्तपुरको चित्तपोलबाट ल्याइएको हो।

इन्द्रजात्राको मुख्य आकर्षण कुमारी, गणेश र भैरवको रथयात्रा शुक्रबार हुनेछ। यसअघि बिहीबार साँझ उपत्यकाका विभिन्न टोलमा दीप प्रज्ज्वलन गरी मृतकको आत्माको शान्तिका लागि बत्ती बालिने परम्परा छ, जसलाई 'दागिनी जात्रा' पनि भनिन्छ। जात्राको अवसरमा सरकारले उपत्यकाभित्र सार्वजनिक बिदा दिएको छ। इन्द्रजात्रा काठमाडौं उपत्यका र यस आसपासका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रुपमा मनाउने एक प्रमुख पर्व हो। यो जात्राले वर्षा र सुदृढ राज्यको कामना गर्दछ।
















