काठमाडौँ ।
दुई दिनदेखि बाढीले अवरुद्ध महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासस्थित विनयी खोला खण्ड एकतर्फी सञ्चालनमा आएको छ। बुधबार अपराह्न डाइभर्सन निर्माण सम्पन्न भएपछि राजमार्गमा यातायात पुनः सञ्चालन भएको हो।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार, बुधबार साँझ ५:३० बजेबाट डाइभर्सनमार्फत सवारीसाधन सञ्चालनमा ल्याइएको छ। यो पटक निर्माण गरिएको डाइभर्सन विनयी खोलामा दशौँ पटकको प्रयास हो। यसअघि निर्माण गरिएका नौ वटै डाइभर्सन बाढीले बगाएको थियो।
डाइभर्सन सञ्चालनमा आएसँगै गैंडाकोटदेखि दुम्कीबाससम्मको करिब ५० किलोमिटर क्षेत्रमा रोकिएका सयौँ ट्रक र लामा दूरीका सवारीसाधनहरू गन्तव्यतर्फ पठाइएको छ। यद्यपि, दाउन्ने सडक खण्डमा मर्मत कार्य जारी रहेकाले हरेक साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात बन्द गरिने प्रहरीले जनाएको छ।
गत पुस २६ गते विनयी खोलाको फलामे पुल भाँचिएपछि सो स्थानमा डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ। तर, वर्षायाममा बाढी आउनासाथ डाइभर्सन बगाउने समस्याले यात्रुहरूले सास्ती खेप्दै आएका छन् र यो जोखिम अझै कायमै छ।