काठमाडौँ,असाढ ०१ ।
भारतको उत्तराखण्ड प्रदेशस्थित रुद्रप्रयागमा केदारनाथ मन्दिरको दर्शन गरेर फर्किरहेका यात्रु सवार हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दुर्घटनामा पाइलट र एक बच्चासहित पाँच जनाले ज्यान गुमाएका हुन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाको पुष्टि गर्दै घटनास्थलमा खोज तथा उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ मन्दिरबाट गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानले खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेको छ।
उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरू सवार थिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।