काठमाडौं । जनयुद्धका घाइते तथा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता प्रेम तामाङले जनयुद्ध दिवसकै दिन भावुक स्टाटस लेखेर पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका छन् । दोलखाका युवा नेता तामाङले आफुहरुका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पल्ट प्रधानमन्त्री हुँदा पनि आफुहरुलाई पार्टी तथा राज्यबाट कुनै सम्मान नपाएको गुनासो उनले गरेका छन् ।
जनयुद्धकालमा आफ्नो एउटा हात गुमाएका उनले राज्यकोतर्फबाट गणतान्त्रिक योद्धाको एउटा प्रमाणपत्र समेत उपलब्ध नगराएकाले विद्रोह गर्नु परेको स्टाटसमा उल्लेख गरेका छन् ।
तामाङले सार्वजनिक गरेको विवरण अनुसार उनको परिवारले जनयुद्धमा अपूरणीय क्षति व्यहोरेको छ। उनका दाइले २० वर्षकै उमेरमा सहादत प्राप्त गरे भने उनी स्वयंले आफ्नो दाहिने हात गुमाए। युद्धकै क्रममा उनका बुबाले पटक–पटक हिरासत र यातना खेपे भने आमाले वर्षौंसम्म सेना र प्रहरीको धम्की र त्रासका बीच जीवन बिताइन्। उनका भाइ र श्रीमती समेत जनमुक्ति सेनामा रहेर दर्जनौँ मोर्चामा लडेका थिए।
“मेरो सिङ्गो परिवार नै माओवादी आन्दोलनमा होमिएको स्पष्ट छ,“ तामाङ लेख्छन्, “तर यत्रो बलिदान, सङ्घर्ष र अङ्गभङ्ग हुँदा समेत अहिलेसम्म न सार्वजनिक रूपमा, न व्यक्तिगत रूपमा राज्य वा पार्टीबाट कुनै सेवा–सुविधा र अवसर प्राप्त भयो।“

तामाङले नेतृत्वप्रति कडा प्रहार गर्दै भनेका छन् कि जनयुद्धकै जगमा प्रचण्ड र बाबुराम जस्ता नेताहरू पटक–पटक प्रधानमन्त्री बने, तर युद्धका घाइतेहरूले गणतान्त्रिक योद्धाको प्रमाणपत्र सम्म पाउन सकेनन्।
उनको मुख्य असन्तुष्टि यसरी उललेख गरेका छन् :

आफ्नो पसिना, बुद्धि र उमेर खर्चेको आन्दोलनले नै आफूहरूलाई बिर्सिएपछि तामाङले अब उक्त पार्टीमा रहन नसक्ने संकेत गरेका छन्। उनले लेखेका छन्, “केही पनि पाइएन, त्यसैले त्यो पार्टीबाट विद्रोह गरेको छु।“
जनयुद्ध दिवसको अवसरमा एकातिर नेतृत्वले उपलब्धिको उत्सव मनाइरहँदा, प्रेम तामाङ जस्ता भुइँतहका घाइते योद्धाहरूको यो असन्तुष्टिले जनयुद्धको बाँकी कार्यभार र शान्ति प्रक्रियाको अधुरो पाटोलाई फेरि सतहमा ल्याइदिएको छ।